भविष्यका कर्णधार, वर्तमानका साझेदारः थापा

दैलेखको नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले भविष्यका कर्णधार बालबालिका वर्तमानका साझेदार भएका बताएकी छन् । सेतो गुराँस बालविकास सेवा दैलेखले प्रारम्भिक बालविकास शिक्षकहरूका लागि आधारभूत प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड सम्बन्धी आयोजना गरेको १० दिने तालिम समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले बालबालिकाको भविष्य बालशिक्षकको हातमा हुने भएकाले भविष्यका कर्णधार बालबालिकालाई व्यवहारिक सीप सिकाउनु उत्तम हुने बताइन् । ‘बालबालिकाको दोस्रो पाठशाला भनेका बालविकास केन्द्र हुन्, उनीहरूको सिकाइमा ध्यान दिनुपर्ने पहिलो दायित्व बालशिक्षकको हुन्छ’, उनले भनिन् ।
उपप्रमुख थापाले बालविकास केन्द्रको भौतिक संरचनाको विकासकालागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सेतो गुराँस बालविकास सेवाले बाबालबालिकाको सिकाइकालागि महत्वपूर्ण सहयोग गर्दै आएको बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बालबालिकाको सिकाईमा ध्यानदिनु सबैको प्रमुख दायित्व भएकोे बताए । उनले नगरपालिका भित्रका बालबालिकाको सिकाइ विकासकालागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
शिक्षा तथा समन्वय ईकाई दैलेखका निमित्त प्रमुख रतन विष्टले बालबालिकाहरूकालागि तल्लो कक्षाको सिकाई महत्वपूर्ण हुने बताए । उनले पढाउने कार्य प्राविधिक भएकाले शिक्षक शिक्षिकाले उनीहरूको रुचिलाई ख्याल गर्नुपर्ने बताए ।
नगरपालिका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले बालविकास केन्द्र बालबालिकाका लागि पहिलो पाठशाला भएको बताए । बालबालिकाको सिकाइकालागि बालविकास केन्द्रका शिक्षकको भूमिका महत्वपूर्ण हुने थापाको भनाई थियो ।
१० दिने तालिममा सहभागीको तर्फबाट बोल्दै असु नेपालीले दश दिनको अवधिमा सिकाइका सातवटा विषयमा जानकारी पाएको बताइन् । उनले आउँदा दिनमा नगरपालिका भित्रका सम्पूर्ण बालविकास केन्द्रका शिक्षकहरूलाई समेटेर यस्तै उपलब्धी मुलक तालिम आयोजना गर्न आग्रह गरिन् ।
उनले आफूहरू तालिममा सहभागी भएर बालविकास निर्देशिकाको बारेमा थाहा पाएको बताइन् । ‘नेपालीले भनिन् हामीले यो दश दिने तालिमबाट बालशिक्षा सिकाईका लागि धेरै कुराहरु सिक्ने वसर पाएका छौँ’, उनले स्थानीय सरकारले राष्ट्रिय मापदण्ड अनुसार बालविकास केन्द्रको भौतिक विकासमा ध्यान दिनुपर्ने बताइन् ।
नेपालीले भनिन् ‘बालकक्षा पढाउन थालेको १८ वर्ष भयो, पाठ्यक्रम , राष्ट्रिय न्यूनतम मापदण्ड मुख्य विषयवस्तु २६ वटा उपशीर्षक दैनिक कार्यतालिका र ७ वटा सिकाइ क्षेत्रको बारेमा पहिलो पटक जानकारी पाएको हौँ,’ तालिमको ९ आंै र १० औँ दिनमा तालिमको अवलोकन र नीतिगत व्यवस्था सम्बन्धी प्रस्तुतिकरण मानव संसाधन विकास केन्द्र सुर्खेतका प्रशिक्षक हरी रावल र तालिम शाखा अधिकृत सुवर्ण कुमार खड्काले गरेका थिए ।
नारायण नगरपालिकामा भएका सबै बालबिकास केन्द्रका बाल शिक्षकहरुलाई सिकाई तथा विकास मापडण्डमा आधारित १० दिने तालिम दुई चरणमा सम्पन्न गरिएको सेतो गुराँस बालविकास सेवाका निर्देशक राधा मल्लले बताईन् ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा आयोजना गरिएको तालिममा युनिसेफ नेपालको सहयोग, सेतो गुरास बाल विकास सेवा दैलेखको साझेदारी र नारायण नगरपालिकाको सहकार्यमा सम्पन्न भएको दूई चरणको तालिममा ३७ जना नारायण नगरपालिका भित्रका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार